बाढी प्रभावित इलाकामा हेल्प नेपालको सहयोग
स्रोत: १२खरी
काठमाडौं । बाढीका कारण डुबानमा परेका तराईका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले केही दिन यता राहत सामग्रीहरुको व्यवस्था गर्दै पीडितहरुको पीडामा मलहम लगाउने काम गर्दै आएको छ । गत साउनको अन्तिम सातामा आएको भिषण वर्षाका कारण तराई क्षेत्र बाढीले आक्रान्त बनेको छ भने पहाडि इलाका पहिरोका कारण ।
विगत लामो समयदेखि सामाजिक सेवाको कार्यमा निरन्तर जुट्दै आएको सामाजिक सस्था हेल्प नेपालले गत साउन ३१ गतेदेखि बाढी प्रभावित इलाकामा राहत पु¥याउँदै आएको छ । हेल्प नेपालले पहिलो पटक सप्तरीको राजविराजस्थित एक स्थानीय सामाजिक संस्था धर्मी हल्फा महिला विकास केन्द्रको सहकार्यमा जिल्लाका विभिन्न स्थानहरुका बाढी पीडितहरुलाई खाद्यान्न, म्याट्रेस, ओढन र ओछ्याउनसमेत मिल्ने तन्ना, सफाइका सामग्री, बाल्टीन, जग, पानी शुद्ध पार्ने औषधि तथा प्राथमिक उपचारका लागि आवश्यक औषधिहरु राहत सामग्री स्वरुप पीडितहरुलाई उपलब्ध गराएको छ ।
सप्तरीका विभिन्न क्षेत्रहरुमा प्रारम्भीक चरणमा राहत बाँडदै आएको हेल्प नेपालले झापा, मोरङ, सुनसरी र सप्तरी, रौतहट, बारा तथा नवलपरासीका विभिन्न स्थानमा बाढी प्रभावितहरुका लागि राहत सामग्री पठाएको जनाएको छ ।
हेल्प नेपालकी सचिव घिमिरेले झापा, मोरङ, सुनसरी र सप्तरीका ६ वटा स्थानमा हेल्थ क्याम्प पनि संचालन गरेको बताईन ।
हेल्प नेपालका विपद् व्यवस्थापन संयोजक रवि मानन्धरले बाढी प्रभावित क्षेत्रमा करिब १५ सय बढी परिवारका लागि खाद्यान्न लगायतका सामग्री उपलब्ध गराएको र त्यहाँ अझै माग रहेकोले त्यसको व्यवस्थापनमा आफूहरु लागेको बताए । उनले हेल्प नेपाल नेटवर्कका सहयोगी साथीहरुलाई आवश्यक सहयोग गर्न अपिल पनि गरेका छन् ।
सामाजिक कार्यका लागि मासिक एक डलर सहयोग गरौं भन्ने भावनाका साथ स्थापित हेल्प नेपाल नेटवर्कलाई देश विदेशमा रहेका दाताहरुबाट सहयोग जुटीरहेको छ ।
हेल्प नेपालले हालसम्म पीडितहरुका लागि जिल्लाका स्थानीय सहयोगी संस्थाहरुको सहयोगमा करिब २४ लाख बराबरको खाद्यान्न, लत्ताकपडा, सफाइ सामग्री र औषधि वितरण गरिसकेको नेटवर्कका कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।