हेल्पनेपालद्वारा बाढीपीडितहरुको घरदैलोमै राहत
स्रोत: नेपाली पोष्ट
एउटा कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्कले, बाढीबाट प्रभावित जनसमुदायको घरदैलोमै पुगेर अत्यावश्यक सहयोग पुराइरहेको सो संस्थाले जनाएको छ।
सप्तरीमा स्थानीय धर्मीहल्फा महिला विकास क्लबसंग मिलेर बाढीपीडित परिवारहरुलाई राहत सामाग्री वितरण गरिएको थियो। त्यस्तै सिराहामा पनि राहत सामग्री वितरण गरिएको र नवलपरासीमा राहत सामग्रीहरु पठाउन लागिएको नेटवर्कले जनाएको छ।
काठमाडौंस्थित हेल्पनेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले विभिन्न ठाउँहरुबाट राहत सहयोगका लागि अनुरोधहरु आइरहेको बताए। “हामीले अहिले नवलपरासी, रौतहट, सिराहा, सप्तरी, झापा र सुनसरीमा राहत पुर्याउने निर्णय गरेका छौँ। यो मानवीय अभियानमा सहयोग गर्न हामी नेपाल र संसारभरि रहनुभएका नेपालीहरुलाई आह्वान गर्दछौं,” उनले भने।
यो मानवीय काममा सघाउन इच्छुक विदेशमा बसीरहेका नेपालीहरुले यो लिङ्कमा गएर सहयोग गर्नसक्ने पनि नेटवर्कले जनाएको छ।
https://www.justgiving.com/fundraising/nepal-flood-relief-2017
हेल्प नेपाल नेटवर्कले विगतमा पनि भुकम्प तथा बाढी, पहिरो एवम् आगलागी पीडितहरुलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ। गत जुलाईमा पनि नेटवर्कले सप्तरीमा बाढी पीडित दर्जनौं परिवारलाई भाँडाकुँडा, धोती-साडी, त्रिपाल र लुगाहरू वितरण गरेको थियो।
हेल्प नेपाल मार्फत प्रदान गरिएको सबै सहयोग सीधै पीडित परिवार सम्म पुग्ने र एक पैसा पनि प्रशासनिक काममा खर्च नहुने नेटर्कले जनाएको छ। सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४ मुलुकहरुमा शाखाहरु रहेका छन्।