बाढीपीडित राहतविहीन ‘कृपया, हाम्रो पीडा र दुःखेसो प्रशासनसमक्ष पुर्याइदिनुस् हजुर’
स्रोत: राजधानी दैनिक
एमके माझी / राजविराज
राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टी देवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि बसिरहेका छन् । उनी बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन्तान दम्पती ८० वर्षीय वृद्ध विन्देश्वर सदा पत्नी किसनीदेवीसहित बाँसको ढुंग्रोमा त्रिपाल टाँगेर रात बिताएको बिताउन थालेको बिहीबार १३ दिन पुगेको छ । ऐलानी जग्गामा बनाएको दुवै परिवारको सानो झुप्रो गत २७ साउनमा बाढीले लिएर गयो ।
बाढी आए पनि हाम्रो ज्यानचाहिँ बच्यो, अरू केही बचेन, पीडित कमल सदाले भने । उनका अनुसार बाढीका कारण सो बस्तीका ३० परिवारको घर डुबेको थियो । जसमध्ये कमल र विन्देश्वरको घर नै बगायो भने २८ परिवारको घर डुबानमा परेको थियो । वर्षा केही मत्थर हुँदै गएपछि ती बस्तीका २८ परिवार घर फर्किएर जसोतसो गुजारा गर्दै आएको कमल सदाले बताए । ‘म र विन्देश्वरको चाहिँ फर्किने ठाउँ नै छैन,’ बाढीले घरै बगाएपछि फर्केर कहाँ जाने भन्ने अन्योलमा परेका उनले ले भने,‘बाढीले हामी गरिबलाई नांगेझार बनाए पनि हाम्रो अवस्था बुझ्न अहिलेसम्म सरकारको मान्छे कोही पनि आएका छैनन् ।’२७ साउनको मध्यरातमा ज्यान जोगाएर भागेका विन्देश्वर पनि अब कहाँ गएर बस्ने भन्ने पिरलोमा छन् ।
‘बाढीले घर बगाएको भोलिपल्ट २८ साउनका दिन हेल्प नेपाल नेटवर्क काठमाडौंको सहयोगमा स्थानीय धर्मीहल्फा महिला विकास क्लबको संयोजनमा वितरण गरिएको त्रिपालको भरमा बाँचेका छौं,’ बाढीपीडित विन्देश्वरले भने । बाढीपीडितलाई सरकारले ठाउँठाउँमा राहत वितरण गरिरहेको सुनिए पनि सो बस्तीमा हालसम्म सरकारी निकायबाट कुनै राहत नआएको उनी दुवैको गुनासो छ ।
केही साना र थोरै राहत लिएर सो बस्तीमा बिहीबार दोस्रोपटक धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादव तथा सञ्चारकर्मीहरूलाई पीडा सुनाउँदै बाढी पीडितहरूले एकै स्वरमा भने, ‘आजसम्म हाम्रो अवस्था बुझ्न सरकारका कोही पनि आएनन् । कृपया हाम्रो पीडा प्रशासन र सरकारसँग पु¥याइदिनोस् हजुर ।’ स्थानीय लखन सदाले आफूहरूलाई व्यवस्थित आवासको व्यवस्था मिलाइदिन आग्रह गर्दै भने,‘बाढीबाट बर्सेनि पीडित हुँदै आएका छौं, अभैm बाढीको पीडा कति भोगिरहनू ?’उनीहरूले वडा सचिव महेश यादवलाई २८ साउनमै नाम र क्षति विवरण टिपाए पनि हालसम्म कुनै राहत नपाएको गुनासो गरे ।