हेल्प नेपाल युकेद्वारा बाढीपीडितलाई सहयोग संकलन सुरु
स्रोत: दैनिक नेपाल
लण्डन । गत साता वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुगाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको जनाएको छ ।
“जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ । बाढीपीडितहरूका लागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ । त्यसैले विगतमा जस्तै यसपटक पनि हामीले शुरु गरेको राहत अभियानमा मन खोलेर सहयोग गर्न हामी अपील गर्दछौं,” हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने ।
काठमाडौंस्थित हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले विभिन्न ठाउँहरूबाट राहत सहयोगका लागि अनुरोध आइरहेको बताए ।
“हामीले अहिले नवलपरासी, रौतहट, सिराहा, सप्तरी, झापा र सुनसरीमा राहत पुगाउने निर्णय गरेका छौँ । यो मानवीय अभियानमा सहयोग गर्न हामी नेपाल र संसारभरि रहनुभएका नेपालीहरुलाई आह्वान गर्दछौं,” उनले भने ।
हेल्प नेपाल नेटवर्कले विगतमा पनि भूकम्प तथा बाढी, पहिरो एवम् आगलागी पीडितहरूलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ ।
गत जुलाईमा पनि नेटवर्कले सप्तरीमा बाढी पीडित दर्जनौं परिवारलाई भाँडाकुँडा, धोती–साडी, त्रिपाल र लुगाहरू वितरण गरेको थियो ।
हेल्प नेपाल मार्फत प्रदान गरिएको सबै सहयोग सीधै पीडित परिवार सम्म पुग्ने र एक पैसा पनि प्रशासनिक काममा खर्च नहुने नेटर्कले जनाएको छ ।
सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४ मुलुकमा शाखाहरू रहेका छन् ।